२४ माघ २०८२, शुक्रबार

राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल

११ मंसिर, काठमाडौं । 

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने तर्फ अघि बढी सकेको बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले समितिको समसामयिक विषयमा डाकिएको बैठकमा भाग लिँदै सो कुरा बताएका हुन्। बैठकमा समिति सदस्यहरूको जिज्ञासामा जवाफ दिनु हुँदै मन्त्री अर्याल भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ।’

यो गैरदलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्णरुपले प्राथमिकता दिँदै चुनावबाटै अवको निकास दिन सरकार तत्पर रहेको मन्त्री अर्याले बताए। औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति गरी नै राखेकोले अव आफू पनि गृहमन्त्रीको हैसियतले राजनीतिक दल, नव पुस्ता, र सबै पक्षसँग वार्ता र संवादबाट नै चुनावको वातावरण सुनिश्चित गर्ने तर्फ लागि पर्ने बताए।   धेरै भन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको हुनाले फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति नरहेको मन्त्री अर्यालले धारणा थियो। ‘हिंसा हामी सबैका लागि वर्जित छ, यो हुनु हुन्थेन र अव पनि यो हुने कुरा हाम्रो सरकार सजक  र संवेदनशिल छ,’ मन्त्री अर्यालले भने। लुटिएका हात हतियार के कति बाहिर हो भन्ने विषयमा यो सरकारको सुरक्षा प्रोटोकल भित्र गोप्य रहन्नु पर्ने भएकोले, सङ्ख्या यति नै हो भन्न मिल्दैन मन्त्री अर्यालले समिति सदस्यहरूलाई बताए। तर सरकारले हतियार र फरार कैदी वन्दी पक्राउ गर्न विशेष अप्रेसन र संयुक्त सुरक्षा गस्तीलाई देशै भर उच्च प्राथमिकता दिएकोसमेत मन्त्री अर्यालले भने।

कुनै पनि आन्दोलन र सडक प्रदर्शनमा सरकारले गैर घातक हतियारको प्रयोग लाई बढी प्राथमिकता दिएर हाम्रा सुरक्षाकर्मीलाई सोही अनुरूप परिचालनको नीतिगत व्यवस्था गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए। यस्तै, मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। ‘भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कूल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ’ मन्त्री अर्यालले भने। मन्त्री अर्यालले हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिए। बैठकमा समिति सभापति माया प्रसाद शर्माले समितिको बैठकमा अबको राजनीतिक निकास भनेकै निर्वाचन भएकोले सरकारले घोषित मितिमै निर्वाचन गराउने गरी सम्पूर्ण वातावरण बनाउनेमा समिति विश्वस्त रहेको बताउँदै, समितिमा उपस्थित भएर गृह मन्त्रालयसँग गाँसिएका जनसरोकारका विषयलाई सम्बोधन गरिदिएकोमा धन्यवाद दिए। समिति सदस्यहरू नर बहादुर विष्ट, मदन कुमारी शाह, मदन बहादुर परिवार, कृष्ण प्रसाद अधिकारी, रुक्मिणी कोइराला, युवराज शर्मा, सुमित्रा वि सी र रेनु चन्द लगायतले गृह मन्त्रालय अन्तर्गत सार्वजनिक चासो र विषयमा आआफ्ना जिज्ञासा राखेका थिए।

Post Comment

छुटाउनुभयो कि ?