दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता हुँदै

सारांश

  • सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ ।
  • वार्ता गृह मन्त्रालयमा हुने छ ।
  • वार्तामा प्रसाईं सहभागी हुने छैनन् ।

२६ कात्तिक,  काठमाडौं ।

सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने छ । वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् । खतिवडाले भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं ।’

सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नहुने खतिवडाले बताए । उनले भने, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँग आज वार्ता हुन लागेको पुष्टि गरे । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् । आन्दोलन घोषणा गरेका प्रसाईंमाथि निगरानी प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए । आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।  यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?