मधेशमा डिपबोरिङ जडान सुरु
११ साउन, काठमाडौं ।
लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो । अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइ भन्दा खानेपानीलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । मधेश प्रदेश सरकारको सीमित स्रोतसाधनका बाबजुद आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर डिपबोरिङ जडान अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो । खानेपानी तथा सिँचाइको समस्याबाट ग्रसित जनताले सो मन्त्रालयसमक्ष विभिन्न वडा तथा टोलमा खानेपानीको समस्या रहेको भन्दै बोरिङ जडानको माग गरेका मन्त्रालयले जनाएको छ ।
खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुख्खाक्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । साथै प्रदेश सरकारले खानेपानी अभाव क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ । यसैबीच मधेश प्रदेश सरकारको डिपबोरिङ जडान गर्ने योजनाअनुसार धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान सुरु भएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्रालयअन्तर्गत भूमिगत सिँचाइ कार्यालय जलेश्वर, भूमिगत सिँचाइ कार्यालय लहान, भूमिगत सिँचाइ कार्यालय कर्मेया (सर्लाही), तथा भूमिगत सिँचाइ कार्यालय वीरगञ्जमार्फत डिपबोरिङ निमार्ण गरिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार ती कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुई/दुईवटा जिल्लामा डिपबोरिङ जडान तथा निमार्ण गर्दै आएका छन् । सङ्घीय सरकारको मातहतमा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले गत आर्थिक वर्षदेखि सिँचाइका साथै डिपबोरिङ जडान सुरु गरेको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । धनुषा तथा सिरहा कार्यक्षेत्र रहेको सो कार्यालयबाट जडान गरिएका डिपबोरिङबाट केही हदसम्म सिँचाइ तथा खानेपानीको समस्या समाधान भएको उहाँको भनाइ छ ।
Post Comment