कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
१७ जेठ, कर्णाली ।
कर्णाली करिडोरको खुलालु-लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनाअनुसार शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले बताए।
उनका अनुसार जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ। कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिनेछन् भने हुम्ला, बाजुरा र कालीकोटको सान्नी त्रिवेणी, रास्कोट, पचालझरना र पलाताबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ। सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन यो सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको हो। निर्माण कार्य सहज बनाउन करिडोरको करिब १ किमी खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ। उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ।
Post Comment