पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
१५ वैशाख, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा पराजित भएयता पहिलो पटक राजेन्द्र लिङ्देनको नेतृत्वको स्वीकारेका छन् । थापाले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा लिङ्देनको नेतृत्वलाई स्वीकारेका हुन् ।
उनले आफूहरू अलग अलग पार्टीमा रहे पनि एजेन्डामा एकै ठाउँ रहेको टिप्पणीसमेत गरेका छन् । थापाले मञ्चमा सँगै उभिएका लिङ्देनको हात समातेर उनलाई नेता मान्न तयार भएका हुन् । त्यसपछि थापा र लिङ्देनसँगै केशरबहादुर विष्ट र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि हात समात्न आइपुगे । ‘हामी एक ठाउँमा छौँ, एक भएर रहन्छौँ । एउटा कुरा प्रष्ट छ, राप्रपा देशको अहिलेको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो’, उनले भने, ‘राप्रपाले नै सबैले समेट्ने गरी अघि बढ्नुपर्छ । यो पहलकदमी लिनका लागि राजेन्द्र लिङ्देनलाई आग्रह गर्छु । लिङ्देनले पहलकदमी लिएर सबै राष्ट्रवादी/राजावादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’
Post Comment