महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन
सप्तरी, फागुन १७ गते । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ । सप्तरीको महादेवा गाउँपालिका वडा नं–६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उहाँका ६८ वर्षीया दिदी इन्दिरादेवी झा फागुन ११ गतेदेखि काशी विश्वनाथबाट सम्पर्कविहीन भएको उमाकान्त झाका छोरा दुर्गानन्द झाले जानकारी दिनुभयो ।
महदेवा गाउँपालिका मंसापुरबाट आमाबुबा, फुपूसहित ३५ जनाको समूहमा गत शनिबार महाकुम्भ स्नानका लागि भारत तर्फ गएका थिए । आइतबार काशी विश्वनाथको दर्शनका लागि लाइनमा लागेको बेला लाइनबाटै उहाँहरु सम्पर्कविहीन भएका हुन् । सम्पर्कविही व्यक्तिहरुलाई उहाँहरुसँग गएका साथीहरुले खोजी गरेपनि कुनै पत्ता नलागेपछि उनीहरू महाकुम्भस्नान गरेर फर्किसकेका छन् ।दुर्गानन्द झाले भन्नुभयो, ‘‘बुवा र फुपुको सामान सबै बसमै छ । उहाँहरुसँग लगाएको लुगा बाहेक केही छैन । उहाँहरुको फोन नम्बर पनि थाहा छैन । कसरी आउनुहुन्छ भन्ने चिन्तालागेको छ ।’
’ बुवा र फुपूको खोजीका लागि सबै पक्षसँग सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ । यसअघि राजविराज नगरपालिका वडा नम्बर ७ हटियाका वीरेन्द्रकुमार साहका २० वर्षीया छोरी रोशनी कुमारी साह भारतको उत्तरप्रदेशको अयोध्याको राममन्दिरबाट सम्पर्कविहीन भएको १४ दिन बितिसक्दा समेत फेला पर्न सक्नुभएको छैन । परिवारकासहित महाकुम्भ स्नानका लागि फागुन ३ गते राममन्दिर दर्शन गरेर फर्किदै गर्दा रोशनी सम्पर्कविहीन हुनुभएको थियो । परिवारले अयोध्यामा बसेर निरन्तर खोजी गरिरहँदा समेत सम्पर्क हुन सकेको छैन । छोरीको खोजका लागि परिवारले सबै पक्षसँग आग्रह गर्दै आएका छन् ।
Post Comment