प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
११ फागुन, काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेश गर्ने संभावित कार्यसूची छ।
गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ। यसैगरी सांसद शेरबहादुर कुँवरले ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ।
उक्त प्रस्तावमाथि सांसद्वय दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् । सांसद राजेन्द्र बजगाईले ‘नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल)को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दिर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ। उक्त प्रस्तावको समर्थक सांसदद्वय उदय शंशेर जबरा र संजय कुमार गौतमले समर्थन गर्नेछन्।
Post Comment