संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी

सारांश

  • संघीय सरकारको परिपत्रविपरीत कोशी प्रदेश सरकारले ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
  • जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत ५ असोजमा परिपत्र गर्दै सार्वजनिक सेवालाई चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी घटाउन परिपत्र गरेको थियो ।
  • तर, आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

१६ कात्तिक, विराटनगर।

संघीय सरकारको परिपत्रविपरीत कोशी प्रदेश सरकारले ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत ५ असोजमा परिपत्र गर्दै सार्वजनिक सेवालाई चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी घटाउन परिपत्र गरेको थियो । तर, आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

मन्त्रालयले गरेको प्रस्तावमा दरबन्दी स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाका अनुसार पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरको दरबन्दी स्वीकृत भएको हो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख विजय राईका अनुसार पर्यटन कार्यालय धरान र काँकडभिट्टामा ७/७ जना, पर्यटन विकास आयोजनामा १५ जना र इकाइमा १० जना कर्मचारीको दरबन्दी स्वीकृत भएको हो । स्वीकृत भएको दरबन्दी कार्यालय सहयोगीदेखि ९औं तहसम्मको छ । कार्यालय प्रमुख र लेखा स्थायी दरबन्दीबाट कार्यालयमा जान्छन् ।

केही प्राविधिक पनि स्थायी दरबन्दीबाट लगिएको छ । बाँकी जनशक्ति अस्थायी दरबन्दीबाट पदपूर्ति हुँदै आएको छ । कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलका अनुसार प्रदेशको स्वीकृत दरबन्दीअनुसार कार्यरत कर्मचारीको नियुक्तिका लागि दरबन्दी स्वीकृत गरिएको हो । संघले परिपत्र गरे पनि अति आवश्यक कार्यालय भएका कारण दरबन्दी स्वीकृत गरेको उनको भनाइ छ । ‘कार्यालयहरू छन्, अघिल्लो वर्षकै दरबन्दी हो,’ उनले भनिन्, ‘केही नयाँ थप गरिएको होइन्, गत वर्ष भएकैको कन्टिन्युटी (निरन्तरता) हो ।’ उनका अनुसार प्रदेशमा दरबन्दीअनुसार काम गर्ने पर्याप्त जनशक्ति छैनन् । के-के भए अरू निर्णय ? आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द रहँदा म्याद गुज्रिएका सवारी साधनका कागजातहरूको जरिवाना मिनाहा गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएका यातायात व्यवस्था कार्यालय इटहरीका दुई कार्यालय र झापाको बिर्तामोडस्थित कार्यालयहरूको सर्भर पुनःस्थापना भएपछि ड्राइभिङ लाइसेन्स वितरण लगायतका सबै सेवाहरू पुनःसञ्चालन गरिने उनले बताए । बैठकले शैलजा आचार्य प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक कानुनी ढाँचा तयार गर्न र शैलजा अस्पताल हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका मन्त्रालय र मातहतका निकायहरूको प्रतिवेदन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बुझाउने निर्णय भएको छ । क्षतिग्रस्त संरचनाहरूको तत्काल मर्मत तथा आवश्यकताअनुसार पुनर्निर्माण कार्य अघि बढाउने निर्णय पनि भएको छ । बैठकले मर्मत गर्न सकिने सवारी साधन मर्मत गरी पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको छ । पूर्ण क्षतिग्रस्त सवारी साधनहरूको लगत कट्टा गर्नेछ । अति आवश्यक नभए नयाँ सवारी खरिद नगर्ने निर्णय गरेको छ । सवारी खरिद गर्नुपर्ने भए आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र अर्थ मन्त्रालयको सहमतिपछि मात्रै खरिद गर्ने निर्णय गरेको छ । आन्दोलनमा ७७ करोडको क्षति गत भदौ २४ गते जेनजीले गरेको आन्दोलन अराजक हुँदा कोशी प्रदेश सरकारको भौतिक संरचना र सवारी साधनमा ७७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रदेश सरकारले गठन गरेको क्षति अनुगमन तथा मूल्याङ्कन समितिले बुझाएको प्रतिवेदन अनुसार ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सो मध्ये ४१ करोड ५२ लाख ९४ हजार १४९ रुपैयाँ बराबरको सवारी साधन जलेको छ । ५० वटा कार्यालय भवनमा आगजनी र तोडफोड हुँदा १८ करोड ४६ लाख २७ हजारको क्षति भएको छ । प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधन जलेको थियो । प्रदेश सरकार मातहतको कार्यालय र मन्त्रालयको ४ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको फर्निचर जलेको छ । १० करोड ५१ लाख ८५ हजार रुपैयाँ बराबरको कम्युटर प्रिन्टर एसीलगायत उपकरण जलेको छ । १ करोड ७१ लाख ५३ हजार बराबरको सूचना प्रणालीसम्बन्धी उपकरण नष्ट भएको छ । मन्त्रालय र कार्यालयमा आगजनीबाट जोगिएका सामग्रीहरू लुटपाट भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १५ करोड ६२ लाख ३० हजार ७५५ रुपैयाँको क्षति भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार बराबरको क्षति भएको थियो । आगजनी र लुटपाटबाट शून्य अवस्थामा पुगेको कोशी प्रदेशसभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजारको क्षति भएको छ । प्रदेशसभा भवन जलेर नष्ट भएको छ । सचिवालय पनि प्रयोग गर्न नमिल्ने भएका कारण सचिवालय सञ्चालनका लागि भाडाको संरचना खोजी भइरहेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड १५ हजार, स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ करोड ५८ लाख ४० हजार, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार बराबरको क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु