१० रुपैयाँ संकलन गरेर ५० बालबालिकाको सहारा बन्दै शिवनाथ
सारांश
- थोरै रकमबाट पनि ठूलो सामाजिक परिवर्तन सम्भव छ भन्ने सन्देशसहित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका समाजसेवी शिवनाथ राउतले ‘उज्यालो अभियान’ सञ्चालन गरेका छन्।
- अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा र परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उनले मासिक १० रुपैयाँ दान अभियान सुरु गरेका हुन्।
- अभियानअन्तर्गत ५ हजार सहयोगी व्यक्ति जोड्ने लक्ष्य राखिएको छ।
७ मंसिर, सर्लाही।
थोरै रकमबाट पनि ठूलो सामाजिक परिवर्तन सम्भव छ भन्ने सन्देशसहित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका समाजसेवी शिवनाथ राउतले ‘उज्यालो अभियान’ सञ्चालन गरेका छन्। अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा र परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उनले मासिक १० रुपैयाँ दान अभियान सुरु गरेका हुन्।

अभियानअन्तर्गत ५ हजार सहयोगी व्यक्ति जोड्ने लक्ष्य राखिएको छ। ५ हजार जनाले प्रतिमहिना १० रुपैयाँका दरले सहयोग गरे मासिक ५० हजार रुपैयाँ संकलन हुनेछ। उक्त रकमबाट हरेक महिना ५० जना बालबालिकालाई छात्रवृत्ति तथा जीविकोपार्जनसम्बन्धी सहयोग गर्ने अभियानको लक्ष्य छ।
विगत डेढ दशकदेखि सामाजिक सेवामा सक्रिय राउत आफैँ जन्मजात शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्। लौरोको सहाराले हिँड्ने उनी शारीरिक कठिनाइका बाबजुद सामाजिक अभियानमा निरन्तर सक्रिय छन्। आफ्नो कठिनाइलाई सीमाभन्दा पनि अरूका लागि काम गर्ने प्रेरणाका रूपमा लिएका राउतले विगतमा विभिन्न सामाजिक अभियान सञ्चालन गरिसकेका छन्।

कोरोना महामारीका बेला लकडाउनमा उनले आफ्नो ज्यानको जोखिमसमेत मोलेर अपाङ्गता भएका व्यक्तिहरूको घरघरमा राहत पुर्याएका थिए। उनले १६ जिल्लामा राहत वितरण अभियान सञ्चालन गरेका थिए।
हाल स्नातकोत्तर तहमा अध्ययनरत राउतले एक दशकभन्दा लामो समयदेखि आर्थिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएका छन्। चन्द्रनगर गाउँपालिका–२ बबरगन्जमा उनले सञ्चालन गरिरहेको निःशुल्क ट्युसन कक्षामा हाल ५५ जना बालबालिका अध्ययनरत छन्।
शिक्षा र सामाजिक सेवामार्फत सीमान्तकृत समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउने उद्देश्यले सुरु गरिएको अभियानमा सबैलाई जोडिन राउतले आग्रह गरेका छन्।
‘ठूलो सहयोग गर्न नसके पनि महिनाको १० रुपैयाँ दिएर सामाजिक परिवर्तनको अभियानमा सहभागी हुन सकिन्छ,’ उनको अभियानको मूल भावना छ।सामाजिक सेवामा पुर्याएको योगदानको कदरस्वरूप राउत ‘४० मुनिका ४० प्रभावशाली युवा’ पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।

आफूले सुरु गरेको अभियानलाई व्यक्ति, संस्था तथा विभिन्न क्षेत्रका सहयोगीहरूको साझा अभियान बनाउन चाहेको राउत बताउँछन्। सानो-सानो सहयोगलाई एकीकृत गरेर अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा र परिवारको आर्थिक अवस्था सुधारमा योगदान पुर्याउने उनको लक्ष्य छ।
‘महिनाको १० रुपैयाँ, कसैको भविष्य उज्यालो बनाउने आधार’ भन्ने सन्देशसहित राउतले उज्यालो अभियानमा ५ हजार सहयोगी जोडिन आह्वान गरेका छन्।
Account Name: UJYALO NEPAL
Account Number: 10900108087002000001
Account Type: Current Account
Bank: Nepal Bank Limited

प्रतिक्रिया