बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
६ पटक हेरिएको
Shares
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए तयार

सारांश

  • लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स अडिट–डीडीए) मध्ये पाँचवटाको प्रतिवेदन तयार भएको छ ।
  • बाँकी दुई उद्योगको मूल्यांकन प्रक्रिया जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका अनुसार बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सम्पत्ति तथा दायित्व मूल्यांकन हुन बाँकी छ ।

 

२९ असोज, काठमाडौं ।

लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स अडिट–डीडीए) मध्ये पाँचवटाको प्रतिवेदन तयार भएको छ । बाँकी दुई उद्योगको मूल्यांकन प्रक्रिया जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सम्पत्ति तथा दायित्व मूल्यांकन हुन बाँकी छ । अन्य पाँच उद्योगको डीडीए प्रतिवेदन प्राप्त भइसकेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरेअनुसार बन्द उद्योगहरूको सम्पत्ति र दायित्व मूल्यांकन प्रक्रिया अघि बढाएको हो । मूल्यांकन प्रतिवेदन अध्ययन गरेपछि सार्वजनिक–निजी साझेदारीका उपयुक्त मोडल छनोट गरी लगानी व्यवस्थापन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

डीडीए प्रक्रिया अघि बढाइएका उद्योगमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड म्याग्नेसाइट, हेटौँडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग छन् ।

  1. सरकारी उद्योग सञ्चालनबारे संसद्मा प्रश्न

प्रतिनिधिसभा सदस्य निष्कल राईले बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको नीतिबारे प्रश्न उठाएका थिए । निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन मान्ने अर्थ मन्त्रालयको नीतिसँग प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारी उद्योग सञ्चालन हुन थालेको बताउने विषयबीचको सम्बन्धबारे उनले चासो व्यक्त गरेका थिए ।

‘सरकारले उद्योग चलाउने सन् १९९० अघि नै विश्वभर असफल भएको मोडलमा मुलुक फर्काउन लागेको हो ?’ राईले लिखित प्रश्नमार्फत सोधेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले लामो समयदेखि बन्द उद्योग सञ्चालनको अवस्थामा ल्याउन प्रारम्भिक चरणमा सरकारको अग्रसरता आवश्यक रहेको जनाएको छ । उद्योगहरूको अवस्था पहिचान, पूर्वाधार मर्मत तथा सम्भावित सञ्चालन मोडलको अध्ययनलाई त्यसैको हिस्सा भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले सार्वजनिक संस्थानलाई बलियो बनाउने उद्देश्यले केहीमा पुँजी वृद्धि र केहीमा सेयर विनिवेश गर्ने नीति बजेटमार्फत अघि सारिएको पनि स्पष्ट पारेको छ ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको आधारभूत पूर्वाधार तथा मेसिनरी मर्मत र परीक्षण उत्पादन सुरु गर्न सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उद्योगमा केही मेसिनमार्फत परीक्षणका रूपमा उत्पादन सुरु गरिएको छ । परीक्षणको नतिजा र उद्योगको सम्भाव्यता अध्ययनपछि पुनः सञ्चालनका लागि उपयुक्त मोडल छनोट गरिनेछ ।

तर, परीक्षण उत्पादन सुरु हुँदैमा उद्योग पूर्ण रूपमा सञ्चालनमा आएको अर्थ भने लाग्दैन । यसको दिगोपन, उत्पादन लागत, बजारको माग र आवश्यक लगानीको व्यवस्थापनले नै उद्योगको भविष्य निर्धारण गर्नेछ ।

अर्थ मन्त्रालयले सरकारी उद्योग पुनः सञ्चालन भए पनि निजी क्षेत्रलाई अलग राखेर काम नगरिने स्पष्ट पारेको छ । निजी क्षेत्रसँगको सहकार्यमा उद्योगहरूको दिगो व्यवस्थापन गरिने र तिनको उत्पादनसँग सम्बन्धित कच्चा पदार्थ आपूर्ति तथा बजार विस्तारमा निजी उद्योगले समेत अवसर पाउने मन्त्रालयको दाबी छ ।

‘सरकारी उद्योगहरूको पुनः सञ्चालन हुने अवस्थामा समेत निजी क्षेत्रसँग सहकार्य गरेरै गरिनेछ,’ मन्त्रालयले जवाफमा उल्लेख गरेको छ ।

संविधानले अंगीकार गरेको सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामार्फत दिगो आर्थिक विकास गर्ने नीतिअनुसार सरकारले काम गरिरहेको पनि मन्त्रालयको भनाइ छ । उत्पादनमूलक अर्थतन्त्रको विकास गर्ने उद्देश्यले सार्वजनिक संस्थानको सुधार गर्न खोजिएको र त्यसमा निजी क्षेत्रलाई अग्रस्थानमा राखिने मन्त्रालयले जनाएको छ ।

यद्यपि, लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्दा लाग्ने लागत, आवश्यक पुँजी, रोजगारी सिर्जना, बजार प्रतिस्पर्धा र सम्भावित वित्तीय जोखिमबारे स्पष्ट योजना आवश्यक देखिन्छ । डीडीए प्रतिवेदनपछि सरकारले कुन उद्योगमा कति लगानी गर्ने, सञ्चालनको जिम्मेवारी कसले लिने र राज्यको वित्तीय दायित्व कसरी व्यवस्थापन गर्ने भन्ने विषयले पुनः सञ्चालन योजनाको प्रभावकारिता निर्धारण गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...