प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र २५, २०८२
|
|
१८२ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

सारांश

  •   २४ चैत, काठमाडौं ।
  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् ।
  • बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो ।

 

२४ चैत, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ । कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । राजदूतहरुसँग व्यक्तिगत भेटमा बालेनको अरुचि उक्त कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रोटोकल प्रमुख कुमार राई तथा सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, काठमाडौंस्थित कूटनीतिज्ञ र दातृ निकायका प्रमुखहरूबाट प्रधानमन्त्री बोलनसँग भेटका लागि दुई दर्जनभन्दा बढी अनुरोध प्राप्त भएका छन् । तर, बालेनले व्यक्तिगत भेटमा रुचि नदेखाएर सामूहिक छलफलमा बोलाएको स्रोतले बतायो ।

परम्परा तोडिने विश्वास

गत चैत १३ गते प्रधानमन्त्रीको पद सम्हालेका शाहले विभिन्न दूतावासहरूबाट शिष्टाचार भेटका लागि पटक–पटक अनुरोध आए पनि हालसम्म व्यक्तिगत रूपमा विदेशी प्रतिनिधिसँग भेट नगरेको उनको सचिवालयले जनाएको छ ।यसअघि भने नयाँ प्रधानमन्त्रीहरूले पदभार सम्हालेको केही दिनमै राजदूतहरूलाई कार्यालय वा निवासमै बोलाएर छुट्टाछुट्टै भेट गर्ने अभ्यास थियो । उक्त अभ्यासप्रति बौद्धिक वर्ग र सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । तर विगतको अभ्यास बालेनले तोड्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज पहुँचको अभ्यास देखिएकोमा यसपटक त्यो परम्परामा अन्त्य हुने बताए । उनले भनेका छन्, ‘परराष्ट्रमन्त्री शिशिर खनाल सहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?