२ पुस, पोखरा ।
नेकपा एमालेको ११औं महाधिवेशनबाट पोखराका प्रा.डा. भरतराज पहारी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भए । यसअघि आयोगको सचिव रहेका पहारी अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भए । एमाले नेतृत्वका लागि प्यानलै मतदानमा जाँदा अनुशासन आयोगसहित केही पदमा भने निर्विरोध भएको हो । पहारी अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा उनीमाथि लागेको भ्रष्टाचारको मुद्दाका कारण चरित्र र नैतिकताको प्रश्न पनि सँगै उठिरहेको छ । त्यतिबेला विशेष अदालतले उनलाई १० महिना कैद र विगो ९८ लाख ३३ हजार रुपैयाँ र त्यति नै जरिवाना हुने फैसला गरेको थियो । फैसला विरुद्ध अख्तियार र पहारी दुवै सर्वोच्च अदालत गएका छन् ।

विशेष अदालतले दोषी करार नै गरेका र उपल्लो अदालतमा मुद्दा विचाराधीन अवस्थामा भएकाले पनि पहारी अनुशासन आयोगको अध्यक्ष भइरहँदा उनीमाथि अनुशासनको प्रश्न उठिरहेको हो । यो प्रश्नमा पहारीको आक्रोशसहितको जवाफ छ, ‘कुनियत राखेर बद्नाम गर्ने, चरित्र हत्या गर्ने मनासायले लगाइएको मुद्दा थियो । पत्रकारले तथ्य नबुझी आरोप लगाइदिए ।’ इन्जिनियरिङका क्षेत्रमा प्राडा पहारीको नाम चर्चित र अग्रपंक्तिमै आउँछ भने पोखरामा उनी केही विवादमा समेत मुछिएका थिए । पहारीले पोखरामा मापदण्डविपरीत होटल बनाएको भन्दै विवाद भएको थियो । २०७६ जेठ १८ गते सो होटलको उद्घाटन गर्न भन्दै एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । मापदण्डविपरीत निर्माण गरिएको भन्दै स्विस इन्टरनेसनल होटल सरोबर विवादित बनेको थाहा पाएपछि उद्घाटन नगरी ओली फर्किएका थिए ।

त्यतिबेला मापदण्डअनुसार साढे २ तलासम्मको भवन बनाउन पोखरा महानगरले स्वीकृति दिएको थियो । तर होटल सरोबर ९ तले थियो । पछि तत्कालीन मेयर मानबहादुर जीसीले २०७५ असोजमा पोखरा महानगरपालिका भित्रको भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेर उनै पहारीलाई संयोजक तोकेपछि फेरि यो निर्णयसमेत विवादित बन्न पुगेको थियो । पहारीकै संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनलाई समेत आधार मानेर मेयर धनराज आचार्यले पोखराको मापदण्ड टुंगो लगाएका छन् । नेकपा एमालेका अध्यक्ष ओलीसँग निकट र भ्रष्टाचारको मुद्दासँग समेत जोडिए पनि पहारी परिवारले ४ दशकभन्दा लामो समयदेखि पोखराको पर्यटन र होटलको क्षेत्रमा काम गर्दै आएको छ ।

पहारी परिवारले सञ्चालनमा ल्याएको त्यही होटल सरोबर पनि जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते जलाएर ध्वस्त भएको छ । जेनजी आन्दोलनका क्रममा पहारीले ठूलो क्षति बेहोरेका थिए । पहारीले एमालेका विभिन्न विज्ञ समूहमा रहेर काम गरेका थिए भने सरकारका विभिन्न तहका विज्ञ समूहको समेत नेतृत्व गरेका थिए । अहिले उनै पहारी अनुशासन आयोगमा निर्विरोध अध्यक्ष चुनिएका छन् ।
Post Comment