१६ मंसिर २०८२, सोमबार

चितवनविरुद्ध काठमाण्डूको मध्यम लक्ष्य

१२ मंसिर, काठमाडौं ।

ओपनर जोन सिम्पसनको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

काठमाण्डूका सिम्पसनले ६० रनको आक्रामक इनिङ खेले । उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । सिम्पसनले २४–३ को कठिन स्थितिबाट मिलिन्द कुमारसँग चौथो विकेटका निम्ति ९८ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हालेका थिए । तर, १५.६ मा मिलिन्द कुमार र लगत्तै अर्को ओभरमा सिम्पसन पनि पभेलियन फर्किएपछि काठमाण्डू बलियो योगफलसम्म पुग्न सकेन । १२२–४ को स्थितिबाट ११ रन जोड्दा काठमाण्डूले मध्य र न्यूनक्रमका पाँच विकेट गुमायो ।

मिलिन्दले ३८ रन थपे । ओपनर बेन चाल्सवर्थले १३ रन जोडे । काठमाण्डूका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । काठमाण्डूका सन्तोष यादव र गेरहार्ड इरास्मस डक भए । ओपनर आकाश त्रिपाठी र राशिद खान पनि क्रमशः चार र ६ रनमा पभेलियन फर्किए ।  काठमाण्डूलाई मध्यम योगफलमा रोक्न चितवनका सोहेल तान्विरले चार विकेट लिए । चार ओभरमा तान्विरले २५ रन खर्चिए । रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट लिए । रवि बोपाराको नाममा एक विकेट रह्यो ।

Post Comment

छुटाउनुभयो कि ?