घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
१९ असोज, इलाम । साउदी अरबमा रहँदा २४ वर्षीय खेमकुमार सिंजाली मगरले दुई वटा दशैं परिवारका साथ मनाउन पाएनन् । एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदा २६ वर्षीया श्रीमती प्रेमिका तामाङ र ५ वर्षीया छोरी प्रिन्सिकासँग समय बिताउने, घुम्ने र रमाइलो गर्ने योजनाले उनी निकै उत्साहित थिए ।
दशैंको टीकाको दिन आफन्तसँग टीका-आशीर्वाद ग्रहण गरी शुक्रबार इलाम नगरपालिका-५, घोष गाउँस्थित ससुराली आएका खेमकुमारको परिवारका लागि यो दशैं जीवनकै सबैभन्दा ठूलो दुर्घटनामा परिणत भयो ।शनिबार गाडीमा यात्रा नगर्ने भन्ने पुरानो मान्यतालाई मान्दै उनीहरू आइतबार मात्रै फर्कने योजनामा बसे। तर आइतबारको सुन्दर बिहान देख्न नपाउँदै प्रेमिकाको कोख रित्तियो । बिहान करिब ४ बजे आएको भीषण पहिरोले प्रेमिकाकी छोरी प्रिन्सिकालाई उनले सधैँका लागि गुमाए।
इलाम अस्पतालमा उपचाररत प्रेमिकाले आँसु झार्दै भनिन्, ‘अनुहार चिन्नै नसकिने भएछ रे, हेर्नसम्म पनि पाएकी छैन। मेरो छोरीलाई जोगाएर मलाई किन लगिनस् भगवान् ।’ ४ दिनपछि खेमको साउदी फर्कने टिकट छ, तर उनीसँग आफ्नो एकमात्र सन्तान प्रिन्सिका छैनन्, छ त केवल दशैँमा ससुराली घरमा आफूले पाएको प्राकृतिक विपत्तिको कहिल्यै नमेटिने घाउ ।खेम र उनकी श्रीमती प्रेमिका दुवै घाइते छन्। तर घाउभन्दा गहिरो पीडा छोरी गुमाउँदा भएको छ । ४ दिनपछि परदेश फर्कनुपर्ने बाध्यता अझै नसकिएको खेमलाई अब जीवन आफैंसँग असहज लागेको छ ।
खेम भन्छन्, ‘प्राकृतिसँग कसैको केही नलाग्दोरहेछ, अब नयाँ शिराबाट जीवन सुरु गर्नुपर्ने होला । विदेश नफर्की श्रीमतीको घाउमा मल्हमपट्टी लगाएर यतै केही गर्ने होला ।’४२ वर्षीय प्रकाश तामाङको दुईतले काठे घरमा धेरै आफन्त भेला भएका थिए । दशैंको रमाइलो गरिरहेका उनीहरूलाई थाहा थिएन, घरमाथिको भिरबाट बगेको लेदोसहितको पहिरोले उनीहरूको जीवन यसरी च्यापिनेछ भनेर । शनिबार राति करिब १२ बजे मात्रै सुतेका परिवार बिहान सबेरै घरमाथिबाट आएको पहिरोमा पुरिए। प्रकाशकी बहिनी अनु तामाङ, ज्वाईं अर्जुन दनुवार, छोरा आरभ दनुवार र अर्का छोरा आवास दनुवार पनि दशैं मान्न शुक्रबार नै ससुराली आएका थिए । शनिबार गाडीमा यात्रा गर्न नहुने बताएपछि उनीहरूले पनि आइतबार नै झापास्थित अर्जुनधारा घर फर्किने योजना बनाएका थिए ।
पहिरोमा परेको ससुराली घरदेखि तल्लो बडाबा धोजकुमार तामाङको घरमा शनिबार साँझ खाना खान सबैलाई निम्तो थियो । राति १० बजेसम्म तल्लो घरमै रमाइलो गरेर ससुराली फर्किएको थियो अर्जुनको परिवार । रातको लगभग १२ बजे मात्र सुतेका अर्जुनलाई भारी वर्षाले केही ध्वंश गर्ला कि भन्ने त्रास थियो । बिहान ४ बजे पिसाब गर्न उनी उठे । घरमाथिको भिरतिर टर्च बाले । पानी पर्न भर्खर रोकिएको थियो । खासै समस्या नहोला भन्ने ठानेर खाटमा यसो पल्टिएका मात्र थिए, एक्कासि घर गर्लामगुर्लुम लड्यो ।माथिबाट आएर किचेको काठको बिमलाई खुट्टाले धकेलेर उनी जसोतसो बाहिर निस्किए अनि आफूसँगै सुतेको १० वर्षे छोरो आरभलाई पनि सकुशल निकाले । त्यो बेलासम्म घरमा सुतेका आफ्नी श्रीमती र आफ्नो ३ वर्षीय छोरा गुमाइसकेका थिए ।
अबेर गरी श्रीमती र सानो छोरा सुतेको कोठमा उनीसहित गाउँले पुग्दा श्रीमतीको टाउको काठको बिमले किचेर क्षतबिक्षत भइसकेको थियो । ३ वर्षीय छोरालाई भने कुनै चोट लागेको थिएन । अर्जुनले भने, ‘रेस्क्यु गर्न अबेर भयो, मेरो सानो छोरो निस्सासिएर बित्यो होला ।’उनले पछि थाहा पाए, ससुराली घरमाथिबाट आएको लेदोसहितको पहिरोले ठूलो बाँसको झ्याङ लिएर आएको रहेछ, सो झ्याङले नै घरलाई माटोमा मिलाएको रहेछ । प्रकाशको घरमा पाहुनाका रूपमा आएका २३ वर्षीय समीर देउसाली, प्रकाशका भतिजहरू २३ वर्षीय प्रवीण पाख्रिन तामाङ र २३ वर्षकै बिराज पाख्रिन तामाङको पनि सुतेकै ठाउँमा ज्यान गयो । इलाम अस्पतालका मेच र बेडहरूमा प्रकाशको घरमा पाहुना आएका आफन्तहरूले भरिएका छन् भने शवगृहमा पनि २ जना घरभित्रका र ४ जना पाहुनाको शवले भरिएको छ ।
इलाम अस्पतालको इमर्जेन्सीको एक बेडमा ३ जना घाइते बालकहरू छन् । पशुपतिनगरबाट मामाघरमा आएका रिन्छेन तामाङ १३ र झापाबाट मामाघर आएका दिवस तामाङ १२ सामान्य घाइते छन् । उनीहरूका अभिभावक इलाम आउने क्रममा छन् । एकटकले टोलाएर सोही बेडमा बसिरहेका आरभ दनुवार भने अर्को बेडमा उपचार गराइरहेका बुवा अर्जुनलाई पुलुक्क हेर्छन्, आँखाभरि टिलपिलिएको आँसु आँखामै लुकाउन खोज्छन् । झापाबाट भर्खर आइपुगेकी बुवाकी सानीआमालाई बुबाले घटनाको बेलीविस्तार लगाउँछन् । सानीआमा र अर्जुनका आँखा रसाउँछन्, बालखा आरभ फेरि भक्कानिन्छन्, जसले आमा भन्नलाई कोही पनि अब साथमा हुने छैनन् । झगडा गर्न र सँगै खेल्नका लागि साथमा भाइ छैनन्, छन् त केवल अस्पतालमा उपचार गराइरहेका बुवा ।


Post Comment