यो सरकारको सोचै गलत छः शेखर कोईराला
२१ असार, काठमाडौं ।
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौति गरेकोप्रति आपत्ति जनाउनु भयो ।

आफूले अहिले पनि २० बिगाह जग्गामा उखु खेती गरिरहेको बताउनु भयो । सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको बताउनु भयो । उहाँले मन्त्रीहरुलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब छिटो भन्दा छिटो नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् ।

सभापतिजीलाइ थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरु विदेश गएको गइ देख्छु । दुई चार पटक मन्त्रीहरु विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ ।’ सांसद कोईरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । गर्न सकिँदैन भन्ने नभइ हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताउनु भयो ।



Post Comment