जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या
१ जेठः महोत्तरी ।
जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधि अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ । सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या हुँदै आएको हो । दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने
बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास साहले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अस्पतालमा दैनिक रू तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका जनाउँदै उहाँले अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा बिरामीहरू निराश भएर फर्किनुका साथै उपचार प्रभावित बनेको उहाँले बताउनुभयो । डा साहका अनुसार यहाँ रहेका छ वटा बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक २५ देखि ३० का दरले, मेडिसिन कक्षमा ४० देखि ५० आकस्मिक कक्षमा दैनिक ४० जनासम्म बिरामीहरू आउने गरेका छन् । उहाँले आकस्मिक कक्षमा बिरामी बढी हुँदा शय्या अभावसमेत हुने गरेको बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।
मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग औषधि अभावका बारेमा जानकारी गराइएको अस्पतालका मेसु डा साहले उल्लेख गर्नुभयो । अहिले आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन स्रोत अभाव हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले जनाएको छ । पहिला दैनिक तीन सयको हाराहारीमा बिरामी आउने गरेकामा पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण दैनिक चार सयको हाराहारीमा विभिन्न सङ्क्रमणका बिरामकी आउने गरेका मेसु डा साहले जानकारी दिनुभयो । चर्को घामका कारण जिल्लाबासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण समेत देखा पर्न थालेको उहाँले बताउनुभयो ।
Post Comment