मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
सारांश
- नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
- विवरणअनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकहरू प्रभावित भएका छन्।
- कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण असार १२ गतेदेखि मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको छ ।
२७ असार, काठमाडौं ।
नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकहरू प्रभावित भएका छन्। कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण असार १२ गतेदेखि मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको छ । त्यहाँ अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। यसै प्रदेशको इलाम नगरपालिका ९ राजदुवालीमा अविरल वर्षाका कारण असार २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ।

बागमती प्रदेशतर्फ सम्भावित बाढीलाई ध्यानमा राख्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई असार २२ गतेदेखि बीपी राजमार्गमा सञ्चालन गर्न रोक लगाइएको छ। मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखा र भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो गए पनि कान्तिलोकपथ अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ। गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका ९ फल्लेघरमा पहिरोका कारण असार २६ गतेदेखि सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका २ पाउदीमा असार २५ गते पहिरो खसेका कारण कालीगण्डकी करिडोर अहिले एकतर्फी मात्र सुचारु रहेको छ। कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा असार २७ गते पहिरो गए पनि कर्णाली राजमार्ग अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।



प्रतिक्रिया