विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
सारांश
- २४ पुस, काठमाडौं ।
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्।
- पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्।
२४ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्। बैठकपछि महामन्त्री थापाले सञ्चारकर्मीसँग भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर आयो भने विशेष महाधिवेशन बोलाउनु पर्दै। यो विधानको व्यवस्था हो भन्ने कुरा विधानको खिलाप छ। यो विधानको अपब्याख्य हो। यसमा सहमत हुन सकिएन।’

विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको हक भएको भन्दै त्यसलाई स्थापित गराउन पुस २७ र २८ विशेष महाधिवेशन गर्न लागिएको महामन्त्री थापाले बताए। ‘केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गरियो भने महाधिवेशन प्रतिनिधिसँग पनि हक छ भनेर हक स्थापित गरिएको हो,’ थापाले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने कुरालाई वेवास्ता गरियो। यो मैले कार्यसम्पादन समिति बैठकमै राखेको छु।’ ‘मैले गोदावरीको महासमिति बैठकमै २०८२ सालमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थिएँ। त्यो बेलामा यो केन्द्रीय कार्यसमितिको अधिकार हो पछि गरौ भनियो,’ उनले थपे। थापाले संवेदनशील अवस्था भएकाले विशेष महाधिवेशन माग गरिएको भन्दै विधानको पालनाको गर्दा पार्टीलाई विभाजन हौवा पिटिराखेको गुनासो गरे।


प्रतिक्रिया