लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३ पटक हेरिएको
Shares
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक

सारांश

  •   २२ चैत, रामेछाप ।
  • सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् ।
  •  तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् ।

 

२२ चैत, रामेछाप ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् । तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् । मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए ।

बिहीबार बिहान केही उडान भएका भए पनि शुक्रबार बिहानदेखि उडान हुन सकेको छैन । पर्यटकहरू मन्थली विमानस्थल वरपर विमान उड्ने प्रतीक्षामा बसिरहेका छन् ।  खुम्बु क्षेत्रमा मौसम खराब भएपछि जहाज उड्न नसकेको कारण हेलिकप्टर मार्फत केही पर्यटकहरू फाप्लु र लुक्ला गएका छन् । बिहीबार बिहान एक्कैछिन मौसम खुलेको बेला प्लेन उड्ने भए पनि दिनभरि मौसम खराब हुँदा उडान रोकिएका थिए । केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् ।  मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरका जहाजहरूले पर्यटकहरूलाई सोलु लैजाने र ल्याउने गरेका छन् ।

काठमाडौंबाट गाडीमा मन्थली आउने पर्यटकहरू यहाँबाट जहाज चढेर सोलु जाने गर्दछन् ।  नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थलबाट लुक्लाको लागि यात्रीहरू ल्याउने र लैजाने गरेको छ ।  दिनभरि मौसम खुल्दा एक दिनमा मन्थली– लुक्लाका ६० वटासम्म उडान हुने गर्दछन् । मौसम नखुल्दा पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नचल्दा सयौँ पर्यटक मन्थलीमा नै रोकिएर बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?