कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध

सारांश

  •   हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।
  • कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो।
  • सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् ।

 

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ। कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो।

सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए। त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन्।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए।  ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौँ। यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली  याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ।’ भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए। ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने।

कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन्। १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन्। त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन्।सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीच धवनलाई अनुबन्ध गर्न सफल भएको बताए। ‘आर्थिक चुनौतीको बीच विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौँ।’

धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्। ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने। ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ। टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् ।

यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्।अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट  अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्। यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?