सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
२५ जेठ,मलंगवा।
सर्पदंशसम्बन्धी आधुनिक उपचार विधि र जनचेतनामा सुधार गर्न उद्देश्यले प्रादेशिक अस्पताल मलंगवामा हिजो CME (Continuing Medical Education) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सतिश कुमार साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सचिन कुमार यादव, डा. अविनाश कुमार सिंह लगायत अस्पतालका चिकित्सक, नर्स, ल्याब टेक्निसियनलगायत विभिन्न विभागका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा हालै सर्पदंश व्यवस्थापनसम्बन्धी विशेष तालिम लिएर फर्किनुभएका मेडिकल अफिसर डा. अमित ठाकुरले तालिमको अनुभव र वैज्ञानिक आधारमा सर्पदंशसम्बन्धी व्याप्त भ्रमहरू चिर्दै महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभयो। उहाँका अनुसार सबै सर्प विषालु हुँदैनन्। विषालु सर्पले टोकेको अवस्थामा पनि सधैं विष सर्ने हुँदैन, र विष सरेको खण्डमा पनि त्यो सधैं पूर्ण मात्रामा नहुन सक्छ। पूर्ण मात्रामा विष सरेको अवस्थामा समेत सबै व्यक्तिमा घातक असर नदेखिन सक्छ, जुन व्यक्तिको मेटाबोलिज्ममा भर पर्छ।
डा. ठाकुरले भन्नुभयो, “यदि बिरामीलाई समयमा एन्टी-स्नेक भेनम (ASV) वा कम्तीमा भेन्टिलेटर सुविधा भएको अस्पतालमा पुर्याउन सकियो भने, विषालु सर्पको टोकाइबाट एक जनाको पनि ज्यान जानु आवश्यक छैन।” उहाँले ढिलो उपचार, धामी-झाँक्री धाउने, सर्प समात्न खोज्ने तथा एम्बुलेन्सको अनावश्यक पर्खाइ जस्ता कारणहरूले सर्पदंशका कारण हुने मृत्यु अत्यन्त दुःखद रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागीहरूले सर्पदंशको उपचारबारे अद्यावधिक र व्यवहारिक जानकारी पाएकोमा सन्तोष व्यक्त गरेका छन्। अस्पताल प्रशासनले यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Post Comment