मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम

२ जेठ, जनकपुरधाम ।
मनसुन तथा विपद्मा हुने क्षति न्यूनीकरण गर्न मधेशमा ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीको बरमझियामा सशस्त्र प्रहरी जवानदेखि सहायक निरीक्षक दर्जाका ४९ जनालाई तालिम दिइएको हो । आज अन्तिमदिन विपद् व्यवस्थापन तालिम डेमो प्रदर्शनसहित समापन भएको छ । सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालको प्रमुख आतिथ्यमा५९ औं श्रृंखलाको उक्त तालिम समापनको घोषणा गरिएको हो ।

प्रशिक्षार्थीहरूलाई सडक तथा हवाई दुर्घटना, आगलागी नियन्त्रण (फायर फाइटिङ), डोरीको सहायताबाट उद्दार (रोप रेस्क्यू), शव व्यवस्थापन, जलजन्य प्रकोप उद्दार, बन्दोबस्ती व्यवस्थापन लगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र तालिमको ट्याग प्रदान गर्दै डिआइजी ढकालले तालिममा सिकिएको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै मनसुन नजिकिएकाले सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिए । उनले सशस्त्र प्रहरी बलको योजना अनुसार देशभरका सबै स्थानीय तहका वडामा विपद् व्यवस्थापन स्वयंसेवक टोली गठनको अवधारणा कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै मधेश प्रदेशका आठवटै जिल्लामा यो कार्यक्रम तदारुकताका साथ अघि बढाइने प्रतिवद्धता जनाए।





Post Comment