सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
३० चैत, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गर्नुभएको हो ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआउनुभएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “अघि डा. शेखर कोइरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठूलो बद्नामीहरु भइरहेको छ ।
यो नहोस् भनिसक्नुभयो । त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनुहुँदैन । मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेँछु । उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदुतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’ सभापति देउवाले सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको बताउनुभयो ।
Post Comment