प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
सारांश
- २६ चैत,काठमाडौं ।
- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख आतिथ्यमा भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
- बुधबार सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरेका थिए ।
२६ चैत,काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख आतिथ्यमा भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरेका थिए ।

आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ संकल्पसहित कठिन तालिमपश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिएका थिए । नव आयुक्त अधिकृतहरू सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए । तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले केन्या र जाम्वियाबाट तालिममा सहभागी तीनजना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई ‘नेपाली मिलिटरी एकेडेमी (एनएमए) मेडल प्रदान गरेका थिए । नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना र १ हजार ६०८ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन् । सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका ३२ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् ।


प्रतिक्रिया