रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
२० असार, काठमाडौं ।
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशले अहिले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका लामिछाने त्यहाँबाट पनि छुट्न सकेनन्, सर्वोच्चले उच्चको पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरिदियो । त्यसयता लामिछाने, रास्वपा र उनका समर्थकहरुले अदालतविरुद्ध नै खनिने गरेका छन् । लामिछाने कारागारमै रहँदा रास्वपाले अदालतप्रति अविश्वास देखाएर प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।

यो अभियानमा पूर्व प्रधानमन्त्रीदेखि केही अभिनेतासम्मले हस्ताक्षर गरेका छन् । जसमा पहिलो नाम पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको छ । वैकल्पिक शक्तिको वकालत गर्दै हिँडेका भट्टराईसँगै कलाकार विपिन कार्की, रमेश उप्रेती लगायतले पनि हस्ताक्षर गरेका छन् । रास्वपाको हस्ताक्षर अभियानमा राउटे समुदायदेखि क्रियापुत्रीसम्म पनि छुटेका छैनन् । रास्वपाले स्थापना दिवसका अवसरमा असार ७ गते काठमाडौं उपत्यकाबाट थालेको अभियान अहिले देशभरका वडा वडासम्म पुगेको छ । रास्वपाले चलाएको प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत सई कमल खड्कालाई आवश्यक छानविनका लागि प्रहरी प्रधान कार्यालयमा झिकाइएको हो ।

सई खड्कालाई अहिले आफ्नै हस्ताक्षर निकै भारी र महंगो सावित भएको छ । उनले जानेर गरे या अन्जानमै थाहा छैन, तर उनी नेपाल प्रहरीको बर्दीसहित हस्ताक्षर गरिरहेको भिडियो सार्वजनीक भइरहेको छ । त्यसो त उनी प्रहरी संगठनभित्र पहुँच र पावरको रवाफ देखाउने र सधैं आकर्षक पोष्ट खोजिरहने प्रवृत्तिका व्यक्ति भएको उनी निकट प्रहरीहरु बताउँछन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सई खड्कालाई विभागीय कारबाही हुनेछ । स्रोत भन्छ, ‘सईले प्रहरी बर्दीमै रविको समर्थन गर्दै रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएको प्रमाण नै छताछुल्ल भएको छ । राष्ट्रका लागि खटिनुपर्ने प्रहरी कुनै पनि पार्टीका कार्यक्रम अभियानमा कार्यकर्ता जस्तो भएर खटिन पाउँदैन । यसरी खटिने प्रहरीलाई हदैसम्मको कारबाही हुन्छ ।’ सई खड्काले नेपाल प्रहरीको बर्दीसहित नेपालगन्जमा चलाएको रास्वपाको हस्ताक्षर अभियानमै पुगेर हस्ताक्षर गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सधैं पहुँच र पावरका आधारमा आफूले चाहे अनुसारका पोष्टहरु छानीछानी पोष्टिङ्ग लिइरहेका सई खड्का यतिबेला प्रहरी प्रधान कार्यालयमा हाजिर भएर ‘हस्ताक्षर’को बयान दिइरहेका छन् ।

‘प्रहरी कर्मचारीहरु आफ्नो आचरणभन्दा बाहिर जानुहुँदैन । प्रहरी संगठनको छविलाई धुमिल बनाउने प्रहरी कर्मचारीहरुको गल्ती क्षम्य हुँदैन । सई खड्काले के–कति कारणले रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भए त्यसको छानविन भइरहेको छ, उनलाई विभागीय कारबाही हुन्छ, ढुक्क हुनुहोस्,’ प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले भने । आफ्ना सभापति लामिछानेको हकमा राजद्रोह र ज्यान मुद्दाजस्तो कठोर मुद्दा नलागेको र उनलाई राजनीतिक प्रतिशोधपूर्ण रूपमा अहिले मुद्दा चलाइएको भन्दै रास्वपाले प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । असार ७ गते सुरु भएको रास्वपाको हस्ताक्षर अभियान ९० दिन चल्ने रास्वपाले जनाएको छ ।



Post Comment