११ श्रावण २०८२, शनिबार

पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप

 

२५ चैत, पाल्पा —

पाल्पामा केही दिनयता सरकारी तथा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल जंगल सखाप पारेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा डढेलो लागेको छ । केही दिनयता दिनहुँ जंगलमा डढेलो लागेको छ । फिल्ड डेमोसहितको वन डढेलो तालिममा सोमबार डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर र गोठ जलेको जानकारी गराए ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने तर आगो पूर्णरुपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या भएको उनले बताए । ‘वन जंगलामा लाग्ने डढेलो नियन्त्रणमा लिन धेरै समस्या छ,’ उनले भने, ‘हावाहुरीको बेग र सुख्खा मौसमले थप समस्या पारेको छ ।’ जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा धेरै डढेलो लागेको उनले बताए । नियन्त्रणका लागि सुरक्षा निकाय, वन कर्मचारी, स्थानीय बासिन्दा जुट्ने गरेका छन् । तर पहिलो काम बस्ती जोगाउने हुने गरेको उनले बताए । प्रतिनिधिसभा सदस्य एवं राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांन समितिको सभापति ठाकुर गैरेले व्यक्तिगत लापरबाहीले गर्दा पाल्पाका कतिपय स्थानमा वन डढेलो लाग्ने गरेको बताए । उनले डढेलो लगाउने जस्तो जघन्य अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन सक्नुपर्नेमा जोड दिए । वन जंगलको माथिल्लो भागमा पोखरी निर्माण गर्नुपर्ने, एकीकृत योजना बनाएर डढेलो नियन्त्रण गर्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर रानाले डढेलो लाग्नेभन्दा पनि डढेलोको सुरुवात कसरी भयो भन्ने पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । मान्छेले लगाएको र कतिपय स्थानमा बिजुलीको तार सट भएर पनि डढेलो लागेको भेटिएकाले यसतर्फ सचेत हुनुपर्नेमा उनले बताए । लुम्बिनी प्रदेशसभा वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले ९६ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने भएकाले यसतर्फ सचेतना जगाउनुपर्ने बताए । उनले अग्निरेखा निर्माण, पातपतिंगर सफा गर्ने, घर तथा जंगल नजिक आगो नसल्काउने जस्ता मानवीय कामकाज गर्न नदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लामा टास्क फोर्स तयार गरेर डढेलो नियन्त्रणका लागि काम गर्दै आएको बताए । जिल्लामा केही सामग्री भएपनि पूर्ण नभएकाले यसतर्फ स्थानीय तहले पनि सहयोग गर्नुपर्ने उनले बताए । पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले डढेलो नियन्त्रणका प्रयास भएका पाइने तर दिनहुँ डढेलो लाग्ने भएकाले कानुनी कारबाहीतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चुरेमा रुपन्देहीतर्फबाट लागेको डढेलोले गर्दा पाल्पा क्षेत्रका जंगलमा सल्केको छ । महाभारत क्षेत्रमा सल्लीपिरलले गर्दा बढी डढेलो लाग्ने गरेको हो । जिल्लाका दर्जन बढी सामुदायिक वनमा केही दिनयता डढेलो लागिरहेको छ । राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको हो । पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ४० वटा वडा वन डढेलोको उच्च जोखिममा छ । २५ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । गत वर्ष मात्र ४ सय बढी स्थाना डढेलोको घटना भएका थिए । जसबाट मानवीय क्षति नभए पनि ४० बढी घर तथा गोठ जलेको थियो । डिभिजन वन कार्यालयले सदरमुकाममा मात्र नभई ग्रामीण भेगमासमेत अग्निरेखा निर्माण, प्रचारप्रसार, सचेतना अभियान सञ्चालन गरेको जनाएको छ ।अभियान अन्तर्गत गाउँका प्रहरी चौकी, इलाका वन कार्यालयले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने गरेको डिभिजन वन कार्यालयका नायव सुब्बा सुशील ज्ञवालीले बताए । पाल्पाका ८६ सामुदायिक वन डढेलोको उच्च जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?