खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
सारांश
- महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्।
- ‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई गम्भीरतापूर्वक अति संवेदनशील रुपमा राखेका छौँ,’ ती सदस्यले थपे, ‘अब यतिकै छोड्न मिलेन।
- सिधै हेर्दा मुलुकी ऐनअनुसार कसुरजन्य कार्य पनि छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि तीन विषयमा केन्द्रित रहेर छानबिन तीव्र पारेको छ। महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्।
‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई गम्भीरतापूर्वक अति संवेदनशील रुपमा राखेका छौँ,’ ती सदस्यले थपे, ‘अब यतिकै छोड्न मिलेन। सिधै हेर्दा मुलुकी ऐनअनुसार कसुरजन्य कार्य पनि छन्।’
सांसद सुनारले एक महिलालाई अश्लिल शब्दमा गाली गलौज गरेको अडियो सोमबार बाहिरिएको थियो। त्यसबारे छानबिन गर्न रास्वपाले मंगलबार पार्टीकै अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले मंगलबारबाटै काम थालेको प्रमुख लेखनाथ पौडेलले जानकारी दिए।
आयोगले छानबिन गर्न निर्देशन पाए लगत्तै सांसद सुनारलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनेको थियो। उनले बुधबार जवाफ पठाएको आयोगका एक सदस्यले जानकारी दिए।

‘छानबिन तथा अनुसन्धान दुबै गर्ने म्यान्डेट पाएपछि हामीले माननीयज्यूलाई सोधेका थियौँ। उहाँले लिखित प्रतिक्रिया समयभित्र दिनुभयो। अब मिटिङ बस्छौँ। त्यो प्रतिक्रिया सन्तोषजनक छ कि छैन हेरिन्छ।’
जवाफ सन्तोषजनक नभए अरु थप प्रक्रिया अघि बढाइने ती सदस्यले जानकारी दिए।
यद्यपि, सांसद सुनारले मंगलबार सामाजिक सञ्जालबाट एक भिडियो जारी गर्दै सार्वजनिक भएको अडियो आफ्नो नभएको र एआईबाट निर्मित भएको प्रतिक्रिया दिएका थिए। तर,सुनारको अडियो फेक नरहेको निचोडमा आयोग पनि पुगेको देखिन्छ।
‘उहाँ माननीयज्यूको स्वरमा हामीलाई शंका छैन,’ एक सदस्यले भने, ‘उहाँले जे भनेपनि घटना भएकै हो भन्नेमा कुनै आशंका छैन।’
अर्का सदस्यका अनुसार प्रहरी वा त्यसबारे जानकार सुरक्षा अधिकारीको सहयोग लिएर भएपनि आयोगले यथार्थ जानकारी बाहिर ल्याउने छ।
‘माननीयज्यूले एआई भन्नुभएको छ। कतिपयले एनिमेसन भनेका छन् कतिले के भनेका छन्, यो त बजारमा छरपस्ट छ नि त,’ अर्का सदस्यले भने, ‘जो महिला हो उहाँको मानमर्दन भएको छ, दुवैतर्फलाई सन्तुलनमा राखेर हेर्नुपर्यो।’
सबै घटना प्रष्ट भएपछि अनुसन्धानलाई थप तीव्र बनाइएको उनले बताए।
अनुशासन आयोगका सदस्य सुशीला सिम्खडाले सांसद सुनारमाथि छानबिन प्रक्रिया जारी रहेको बताइन्। ‘छानबिन जारी छ, सबै अनुसन्धान सकिएपछि जानकारी गराउछौँ,’ उनले भनिन्।
समिति सदस्यहरूले घटना जहिलेको भएपनि सामान्य लिन नसक्ने भएकैले प्रभावकारी छानबिन गर्ने बताए।
‘अनुसन्धान तहकिकातमा हामी कुनै कमीकमजोरी गर्दैनौँ,’ अर्का एक सदस्यले भने।
अधिवक्ता समेत रहेका आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले न्यायिक निरुपण गर्ने लयबाट आयोग अघि बढ्न लागेको बताए।
‘हामी प्रमाणहरूको पनि विश्लेषण गर्छौं, आवश्यक पर्यो भने ती ओरिजिनल भिडियो, अडियो मगाएर अध्ययन गर्छौं। त्यसको विश्वसनीयताको परीक्षण गर्ने सम्मको कामहरू गर्छौं,’ उनले भने।
तर, अर्का सदस्य उपेन्द्र नन्दन तिमिल्सनाले आन्तरिक छानबिन गर्ने भएकोले आयोगको सीमा पार्टी भित्रसम्म मात्र रहेको बताए।
‘त्यो भन्दा पर दायरा पुग्यो भने के गर्ने पछि निर्णय होला,’ उनले भने, ‘अहिले प्रतिक्रिया लिने काम भएको छ। उहाँको पनि आएको छ। अब त्यसलाई विश्लेषण गरेर कसरी जाने भन्ने छिट्टै बैठक बस्ने जानकारी प्राप्त भएको छ।’
रास्वपा पार्टीका एक पदाधिकारी पनि सुनार प्रकरण गम्भीर खालको रहेको बताउँछन्। उनका अनुसार प्रमाण संकलन, तहकिकात र अनुसन्धानका लागि सुनारलाई समेत निर्देशन दिइसकिएको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिमाथि आरोप लागेपछि त्यसको जवाफदेहिता बहन गर्नुपर्ने र अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने कुरा सांसद सुनारलाई समेत अवगत गराइएको उनी बताउँछन्।
यद्यपि, आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने र सम्बन्धित व्यक्तिले आफ्नो पक्ष राख्न पाउने अधिकार पनि सुरक्षित हुनुपर्नेमा उनले जोड दिए। अनुसन्धानको चरणमा पुगेपछि सम्बन्धित व्यक्तिले अनुसन्धानलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘प्रचलित कानुन ऐनले के गर्न आवश्यक ठान्छ, दोषी देखिएको खण्डमा त्यसको लागि जो पनि तयार हुनुपर्छ,’ उनले भने।
रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाएका छन्।
रास्वपाको संसदीय दलले पनि छानबिन समितिलाई गम्भीर छानबिन गरेर यथार्थ पत्ता लगाउन सुझाव दिएको छ। रास्वपाले व्यवस्था गरेको राइट टू रिकलको प्रावधान कार्यान्यन गर्नुपर्ने आवाज पनि उठिरहेको छ।
राजीनामाको लागि पार्टीले दबाब नदिएपनि सुनारमाथि प्रश्न उठेकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने पक्षमा आफूहरू रहेको दलका एक नेताले बताए।
सम्बन्धित खबर
प्रतिक्रिया