२४ चैत,काठमाडौं ।
उनी हुन् जस्टिना दर्लामी । हातमा पर्चा बोकेर उभिएकी उनी कुनै साथीलाई कुरेर बसेकी भने होइनन् । कक्षा ११ मा अध्ययनरत उनी आइन्स्टाइन जेभियर कलेजकी विद्यार्थी हुन् । आफ्नो कलेजको प्रचारप्रसार गर्ने उद्देश्यले उनी बिहानैदेखि ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेट अगाडि रहेको परीक्षा केन्द्रमा उपस्थित थिइन् ।

स्कुल ड्रेसमै हातमा कलेजका पर्चाहरू बोकेर उनले एसईई दिन आएका विद्यार्थीहरूलाई वितरण गर्न पर्खिरहेकी थिइन् ।उनको उद्देश्य भनेको परीक्षा दिने विद्यार्थीहरूलाई कलेजका शैक्षिक कार्यक्रमबारे जानकारी दिने हो । जस्टिनासँगै अर्की एक जना विद्यार्थी पनि पर्चा वितरणमा संलग्न थिइन् । परीक्षा दिने विद्यार्थीका परिवारहरूलाई भने पर्चा पहिले नै वितरण भइसकेको थियो ।उनले भनिन्, ‘कलेज चिनाउनको लागि यस्तो पर्चा बाँडिरहेका हौं । सबै विद्यार्थीहरुलाई चिनाइदियो भने झन सजिलो हुन्छ ।’परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने गर्छ ।

नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ ।आइन्स्टाइन जेभियर कलेजले आफ्ना शैक्षिक कार्यक्रमको प्रचार गर्दै विद्यार्थीहरूले स्कूल युनिफर्ममै पर्चा वितरण गरेको पाइएको छ । यसबीच, देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेकाले विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । तर, केही निजी विद्यालय र कलेजहरूले भने परीक्षा केन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार गर्ने प्रयास थालेका छन् ।


प्रतिक्रिया