पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

Raju Yadav Raju Yadav
|
सोमबार, पौष १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

सारांश

  •   दाङ- लमही नगरपालिका– ३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
  • तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ।
  • चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बिचमा पर्ने जखेरा ताल अवस्थित छ।

 

दाङ- लमही नगरपालिका– ३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ। चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बिचमा पर्ने जखेरा ताल अवस्थित छ।

यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन्। अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताए। उनका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन्। लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो। प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, संघसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि आउने गरेका चौधरीले बताए। १२ बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघामा ताल फैलिएको छ।

तालको वरिपरि बाँकी ठाउँमा वनजंगल छ। तालको गहिराइ ६ देखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा  सिद्धेश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आगमन पनि हुने गरेको बताए। यहाँ आउने पर्यटक डुंगा चढेर मन्दिर दर्शन गर्दछन्। तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन्। ‘तालमा डुंगा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन्। सातवटा मात्र डुंगा भएकाले सिजनमा पालो कुर्नुपर्दछ। केही पर्यटक डुंगा चढ्न नपाएर फर्कने गर्नुहुन्छ,’ कर्मचारी चौधरीले भने। एकजनाले पूरै ताल डुंगा चढेर जलविहार गरेमा रु. एक सय शुल्क लिने गरिएको जनाउँदै उनले यहाँ सातजनाले रोजगारी पाएकाे उल्लेख गरे।

जखेरा तालको अवलोकन गर्न गत बुधबार तुलसीपुर उपमहानगरपालिका– ६ बाट आएकी ४८ वर्षीया राधा रजौरेले पहिलोपटक तालको अवलोकन गरेको भन्दै यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको बताइन्। उनले भनिन्, ‘यति सुन्दर ताल रहेछ, यसले फेवातालको झल्को दिन्छ। यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका सबै निकायबिच समन्वय गरी लाग्नुपर्छ।’ ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुने रजौरेले बताइन् । यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायले सहयोग गर्नुपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगम बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिइन्।

घुमघाम गर्न दंगीशरणबाट यहाँ पुगेका ३६ वर्षीय कमल नेपालीले अहिले ताल क्षेत्रमा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको देख्दा खुसी लागेको बताए। ‘पाँच वर्ष पहिले यो ताल घुम्न आएको थिएँ, यहाँ धेरै समस्या थियो, अहिले पूर्वाधारका क्षेत्रमा धेरै विकास भएको रहेछ,’ उनले भने। छोराछोरीले जखेरा ताल घुम्न जाने भनेपछि छुट्टीको समयमा यहाँ आएको भन्दै नेपालीले यहाँ पुगेपछि दृश्यले आफू आनन्दित बनाएको बताए। उनले भने, ‘तालको सुन्दरता बढाउन यहाँ धेरै पर्यटक भित्र्याउन स्थानीय, प्रदेश तथा संघीय सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा थप लगानी गर्नुपर्दछ।’ विगतका वर्षमा नागरिकहरूको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले यो ताल जिल्लाको मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित हुँदै गएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए।

‘ताल जलकुम्भी झार र माटोले पुरिएको थियो। तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, संरक्षण समिति, लमही नगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकार तथा यहाँका नागरिकहरूको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएका हौँ,’ उपाध्यायले भने। अध्यक्ष उपाध्यायका अनुसार गत वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले रु. चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो। यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ। स्थानीय थारू भाषामा जुन ठाउँमा आकासे पानी संकलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ।

वि.सं. २०३० मा साबिकको सोनपुर गाउँ विकास समिति हालको लमही नगरपालिका– ३ निवासी स्व. दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर खेर गइरहेको आकासे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानवनिर्मित जलभण्डारणका रूपमा राखिएको थियो। सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो। दाङको लमही बजारबाट ६ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलाेमिटर दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ। पूर्वपश्चिम राजमार्गबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
गरुडाको तरकारी बजारमा आगोलागी
गरुडाको तरकारी बजारमा आगोलागी
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर