७ चैत्र २०८२, शनिबार

निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

७ चैत, सिरहा ।

६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो । बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ ।

‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’ गंगादेवी अनलाइनखबर दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’ गंगादेवीले सुनाएको यो अनुभव सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ । देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन । यही बस्तीमा जुगेश्वरीदेवी रामले झन्डै जुनी बिताइसकिन । कपालले रंग फेरेर सेताम्मे भइसके । तर, उनले वर्षौअघि पानीका लागि भोग्दै आएको अपमान उस्तै छ ।

‘पहिला खेतको बोरिङबाट पानी ल्याउँथ्यौँ, कैयौँ दिन त पानी नहुँदा बालबालिका भोकै काममा गएका छन्,’ जुगेश्वरीको अनुभव छ,‘यहाँ पानीका दुःख कहिल्यै गएनन् ।’ नेताहरूप्रति निपाने बस्तीसँग अहिले गुनासो, गुनासोमा सीमित छैन, आक्रोशमा बदलिइसकेको छ । बहुदल आएपछि भएका हरेक चुनावमा नेताहरूले ‘पानी ल्याइदिने’ वाचा गरेरै भोट मागेका छन् । तर, त्यो पानी निपानेमा कहिल्यै आएन । गाउँको बिचमा ६ महिनाअघि गोलबजार नगरपालिकाले एउटा बोरिङ भने जडान गरिदिएको छ । तर, त्यो बोरिङमा सफा पानी अहिलेसम्म झरेको छैन । ‘कहिल्यै त्यो बोरिङ नै चल्दैन ।

चलिहालेछ भने फोहोर पानी फाल्छ,’ स्थानीय रामकुमारी महरा भन्छिन् । बोरिङ निर्माणको जिम्मा पाएका ठेकेदार कपिल साहले आफूले योजनाअनुसार नै मेसिन जडान गरेको बताउँछन् । ‘हामीले त जडान गरेकै हौँ, तर गाउँमा पानीको निकास नभएकाले धमिलो पानी आएको हुनसक्छ,’ उनले भने, ‘मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी गरिरहेका छौँ । पानी निकासको बाटो खुल्यो भने पानी सफा हुन थाल्छ ।’

Post Comment

छुटाउनुभयो कि ?