२३ माघ २०८२, बिहीबार

सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा

 

सर्लाही, ०४ माघ। सशस्त्र प्रहरी बल, नेपालको पूर्व–पश्चिम झण्डा मार्च शनिबार सर्लाही जिल्लामा प्रवेश गरेको छ। २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सवको अवसरमा आयोजना गरिएको यो कार्यक्रम सीमावर्ती क्षेत्र हुँदै अघि बढिरहेको छ।

शनिबार पर्सा गाउँपालिका–१ शितलपुरस्थित मुख्य सीमा स्तम्भमा महोत्तरीका एसपी शेरबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा सशस्त्र प्रहरी बल सर्लाहीका एसपी देवबहादुर चन्दलाई हस्तान्तरण गर्नुभएको थियो। झण्डा मार्च सर्लाहीको पश्चिमी सिमाना बलरा नगरपालिका–१ छन्किटोल हुँदै रौतहट जिल्लामा प्रवेश गर्ने कार्यक्रम रहेको छ।

आइतबार साँझसम्म रौतहटका सम्बन्धित गणलाई झण्डा हस्तान्तरण गर्ने तयारी रहेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो। कार्यक्रममा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय, सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव, पर्सा–१ का वडा अध्यक्ष सतेन्द्र यादव, सशस्त्र सीमा बल (SSB) ५१औँ बटालियन एफ कम्पनीका इन्स्पेक्टर राहुल सिंह ढाका, पत्रकार तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बलका अनुसार झण्डा मार्चले नेपाल–भारत खुला सीमामा सुरक्षाप्रति बलको प्रतिबद्धता, सतर्कता र उपस्थिति सशक्त रूपमा देखाउने उद्देश्य राखिएको छ। साथै सीमावर्ती नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिवृद्धि हुने विश्वास गरिएको छ।

Post Comment

छुटाउनुभयो कि ?