९ चैत्र २०८२, सोमबार

पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा

 

२७ पुस, काठमाडौं । 

पठाओ नेपालका मालिक असीममान सिंह बस्न्यातले काठमाडौं १ बाट प्रतिनिधिसभाको आगामी चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश राख्दै फागुन २१ मा हुने चुनावमा काठमाडौं १ बाट प्रतिस्पर्धा गर्ने बताएका हुन्।  ‘म एउटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै छु, आगामी फागुन २१ मा हुनलागेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारीको घोषणा गर्दै छु।

यो निर्णय सजिलो थिएन’, उनले भनेका छन्, ‘उद्यमीको रुपमा मैले नेपालमै बसेर केही बनाउने संघर्ष गरेको छु, रोजगारी सिर्जना गरेको छु, असफलता, दबाब, जिम्मेवारी सबै नजिकबाट देखेको छु। त्यही अनुभवले मलाई एउटा कुरा स्पष्ट गरायो। व्यवस्था सहज भएन भने क्षमता भएर पनि भविष्य अनिश्चित हुन्छ। म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ। मेरा मुख्य तीन एजेन्डा छन्, उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था : युवापुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु मेरो चाहना हो।’

‘जवाफदेहिता : काम गर्नेले जवाफ दिनुपर्छ। निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ। यो नै सुशासनको आधार हो। अनुभव र नयाँ पुस्ताको जोड्ने पहल : जहाँ अनुभवी पुस्ता र युवापुस्ताबीच संवाद, मार्गदर्शन र सहकार्य होस्। हाम्रो समाज एकजुट होस्। म यो यात्रा एक्लै लड्न सक्दिनँ। यो यात्रामा हरपल तपाईंको साथ चाहिन्छ। तपाईंसँगै एक एक पाइला अघि सार्दै यो परिवर्तनको लडाइँ लड्नु छ। तपाईंको सुझाव आलोचना, सहभागिता सबै आवश्यक छ। आउनुहोस् यो यात्राको हिस्सा बनौँ। नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतारौँ। काठमाडौं १ बदलौँ, नेपाल बदलौँ।’

Post Comment

छुटाउनुभयो कि ?