सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
११ पुष, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै भएको बताएका छन् । शुक्रबार तीन ठूला राजनीतिक दलहरूको शीर्ष नेताहरूसँग भेट गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेटमा देउवाले सो कुरा बताएको जानकारी दिए ।

देउवासँगको भेटबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले देउवाले आफूसँग नेपाली कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना नभएको उल्लेख गरेको बताए । “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता चाहिँ निर्वाचन नै हो । नेपाली काँग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन भनेर प्रस्टसँग मसँगको कुराकानीमा बताउनुभएको छ,” मन्त्री खरेलले भने । खरेलका अनुसार निर्वाचनको वातावरण बनाउन देउवाले सरकारलाई आग्रह गरेका छन् । देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खरेलको भनाइ छ ।




Post Comment