२४ माघ २०८२, शुक्रबार

रात्रिबस दिउँसो चलाउन व्यवसायीहरुको माग

४ असोज, काठमाडौँ ।

यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका छन् । देशका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकमा उनीहरूले सो माग गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले रातको समयमा पनि पहिरो गएका कारण रात्रि बसलाई दिउँसो चलाउन मा गरे ।

बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै उनले रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताए । उनले भने, ‘हिजोदेखि बाटोको अवस्था एकदमै नाजुक बनेको छ । ४/५ घण्टासम्म बाटो अवरुद्ध हुन थालेको छ । बर्खाको बेला छ रातिमा पहिरो गइरहेको छ । रातिभन्दा दिउँसो नै बस चलाउनु उपयुक्त हो कि ?’ दसैँ तिहारका लागि यातायात व्यवस्थापन कसरी सहज बनाउने भन्ने विषयमा तत्काल आवश्यक उपाय खोज्न समेत उनले सरकारलाई आग्रह गरे । यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता प्रमुख सडक अवरुद्ध हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको बताए ।  उनले परिस्थिति हेरेर अहिले दुई /तीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरेको जानकारी दिए ।

बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वमा यातायात सहज बनाउने विषयमा भदौ २९ गते बसेको बैठकले निर्णय गरेको जानकारी दिँदै अहिले मौसमका कारण समस्या आएको बताए । यद्यपि तत्काल सडक यातायात सहज बनाउन मन्त्रालय र सडक विभाग तयार रहेको समेत उनले बताए । सचिव शर्माले भने, ‘अहिले पृथ्वी राजमार्ग र मुग्लिन खण्डको तुइन खोलामा रातिदेखि सडक रोकिएको हो । बिहान सुख्खा पहिरो खस्यो । जति गरे पनि झरिरहन्छ । सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको छ । विशेष परिस्थितिमा बाहेक ४ देखि ६ घण्टाभित्र सडक खुलाउन प्रयास गर्नेछौँ ।’  बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?