२६ भाद्र २०८२, बिहीबार

अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

१३ भदौ, जनकपुरधाम ।

प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् ।प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे । अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध जारी रहने उनले बताए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीलाई प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा सदन अवरुद्ध गरेर रगरा गरेको आक्रोश पोखे । यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित गरे । प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्ने गरेका छन् ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को त्रुटिपूर्ण र बिचौलिया हावी भएको  बजेट प्रतिपक्षी दलहरूको बहिष्कारबीच बहुमतले पास गरेको भन्दै प्रतिपक्षी दलहरू असन्तुष्ट छन् । यसमा सभामुख रामचन्द्र मण्डलले तटस्थता नअपनाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

मधेश प्रदेश सभाको छैठो अधिवेशनको पहिलो बैठक बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरुद्ध  गरेको थियो । प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले सदन चल्न नदिने रणनीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment