सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
२६ साउन, सुनसरी।
सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्ग भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार बिहान ४ जनाको मृत्यु भएको थियो। गम्भीर घाइते भएका सप्तरी गोइठीका ६८ वर्षीय जिवछ महात्माको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि दुर्घटनामा परेर सप्तरी मधावेका करिब ३५ वर्षीय शंकर मण्डल, सप्तरी तिरहुतकी ६० वर्षीय अनारवतीदेवी यादव, सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको थियो।
खतिवडाका अनुसार सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो र काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा २८ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार हाल सुनसरी र विराटनगरका विभिन्न अस्पतालमा २३ जना उपचाररत रहेकोमा ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रहरीले २० जना घाइतेको भोक्राहस्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जनाएको छ।
सुनसरी प्रहरीका अनुसार घाइतेहरु सबैको पहिचान भइसकेको छ। दुर्घटनामा परेर मृत्यु हुने सबै जना विङ्गर माइक्रोमा सवार थिए। प्रहरीका अनुसार २ जना घाइतेबाहेक अरु सबै घाइते विङ्गर माइक्रोमा सवार थिए। दुर्घटनामा परेर बसमा सवार रहेकामध्ये २ जना सामान्य घाइते भएको र उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल प्रहरीले बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
Post Comment