लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
१५ चैत,काठमाडौं ।
बझाङको जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनार समेत २ जनालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम २०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङको कानेपोखरी गाउँपालिका-६ बिहीबारे बस्ने ३२ वर्षीय दिप्लुङ राई समेत ३ जनालाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २०० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी, झापाको भद्रपुर नगरपालिका-४ डाँगीवारिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टा बारी बस्ने १७ वर्षीय किशोर समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागू औषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.१९ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारुलाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम १८० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Post Comment