मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
४ साउन, काठमाडौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। आइतबार पार्टी कार्यालय च्यासलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी हुन्। भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको बताइन्।
राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन्। एमाले अध्यक्ष ओली र नेतृ भण्डारीबीच पार्टी कार्यालय च्यासलमा ‘वन टू वन’ छलफल भएको थियो। सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि उनले पहिलोपटक अध्यक्ष ओलीसँग छलफल गरेकी हुन्। भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ।
हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। राष्ट्रपति भइसकेको व्यक्तिको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीबाट टुंग्याइने भन्दै हालका लागि ‘पेन्डिङ’ अवस्थामा राखिएको एमालेले जनाएको छ।

Post Comment