एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
९ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ।
’
उनले अगाडि थपे, ‘म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ भ्रष्टाचारको रूपमा ।’ उनले यस्तो अवस्थामा आर्थिक अवस्था नसुध्रिने भन्दै चिन्ता व्यक्त गरे । ‘यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ,’ उनले भने, ‘फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’
प्रचण्डले माओवादी अहिले जागरण अभियानमा सुशासनको पक्षमा निस्किएको दाबी गरे । ‘अहिले हामी देशव्यापी अभियानमा जानुको पछाडि पनि सरकारका यी गलत क्रियाकलापको भण्डाफोर गर्नु, सरकारलाई खबरदारी गर्नु हो ।’ उनले भ्रष्टाचारका गतिविधि नरोकिए आन्दोलनमा जाने चेतावनी दिए । ‘यदि उनीहरूले यसबाट शिक्षा लिंदैनन् भने सरकारका विरुद्ध आन्दोलित हुने तयारी गर्नु पनि हाम्रो उद्देश्य रहेको छ,’ उनले भने ।
Post Comment