भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
२८ वैशाख, भरतपुर ।
भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा शुरू गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएको जनाएको छ ।

पारस बसपार्कबाट गोन्द्राङ्तर्फको कामका लागि सडक विभागसँग अनुमति लिने प्रक्रिया भइरहेको इञ्जिनियर सुवेदीले जानकारी दिए ।उनले भने, ‘वर्षाको समयमा फाउन्डेसन निर्माणमा कठिनाइ हुने भएकाले केही समय ढिला हुने देखिएको छ ।’ खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि त्यस क्षेत्रको काम शुरू गरिने उनले बताए । सडक विभागबाट अनुमति आएसँगै काम अघि बढाइने उनले जानकारी दिए । केन्द्रीय बस टर्मिनलबाट गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभीए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभीए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ । पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने उनले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । शुरूआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
Post Comment