१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
२५ वैशाख, काठमाडौं ।
सांसद विनोद चौधरीले फिलिपिन्सस्थित आफ्नो आरामदायी रिसोर्टलाई चेन होटल म्यारियट इन्टरनेशनलको नाममा परिणत गर्ने सम्झौता गरेका छन् । सिजी हस्पिटालिटीको स्वामित्वमा रहेको राजधानी मनिला नजिकैको वेलनेस सेन्टरका रुपमा परिचित द फार्म रिसोर्टलाई म्यारियट अटोग्राफ कलेक्सन रिसोर्ट बनाउन लागिएको बताइन्छ ।
मनिलाबाट दक्षिणतर्फ बान्तानगास प्रान्तमा रहेको उक्त रिसोर्टको व्यवस्थापन अब म्यारियट होटलले गर्ने छ । दुई कम्पनीबीच सम्झौता भइसक्दा पनि कारोबार रकमबारे केही खुलाइएको छैन । म्यारियटका एसिया प्रशान्त क्षेत्रीय सभापति राजिव मेननले चौधरीले आफ्नो रिसोर्टको आंशिक स्वामित्व म्यारियटलाई बेचेको र नयाँ तरिकाले सञ्चालन गर्न लागेको संकेत दिएका छन् । सोही रकमबाट चौधरीले दुई करोड आठ लाख अमेरिकी डलरमा उक्त रिसोर्ट नजिकै सुविधा सम्पन्न अत्याधुनिक भवनहरुको सुविधा सम्पन्न समुदाय बनाउन लागेका छन् । यसका लागि फिलिपिन्सका डलर अर्बपति एन्ड्रयु टान्सको रियल इस्टेट कम्पनी मेगावर्ल्ड कर्पसँग सम्झौता गरिएको छ ।
त्यहाँबाट प्राप्त विवरणअनुसार चौधरीले सो क्षेत्रमा ‘वेलनेस कम्युनिटी’ भन्दै नयाँ आवासीय भवनहरु बनाउन लागेका छन् । होटल,पसल,खेलकुद कम्प्लेक्स, मनोरञ्जन स्थल,मेडिकल हुने सो क्षेत्रमा २५ हेक्टर जमिनमा हरियाली कायम राख्ने प्रोजेक्ट तयार छ । ७२ वटा एउटा बेडरुमवाला र केही दुई तथा चार बेडरुमसहित भएका भिल्लामा निजी पौडी पोखरी हुने छ । भिल्लामा ३२१ वर्गमीटरको सुविधा सम्पन्न सभा हल बनाईंदै छ । मनिलाबाट जनआस्था संवाददाताले लेखेका छन्, ‘चौधरीले विश्वभर १९० वटा होटल रिसोर्टमा लगानी गरेको पोर्टफोलियो म्यारियटसँग सम्झौताको क्रममा भेटिएको छ । १२ हजार कोठा भएका ती होटल,रिसोर्टहरु एक दर्जन मुलुकमा छन् ।’

Post Comment