प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
२१ चैत, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । छिमेकी मुलुक भारतले कहिले निम्तो गर्ला र भ्रमण गरुँला भनेर कुरिरहेका ओलीलाई भारतले बेवास्ता गर्दै आएको थियो । यद्यपी अहिले भने थाईल्यान्डको भ्रमणमा रहेका बेला उनीहरुको भेटहुने तय भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डमा छन् । भारतीय प्रधानमन्त्री मोदी बिहीबार पुगेका छन् ।
नेपालले ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो । प्रधानमन्त्रीसँग भ्रमण टोलीमा रहेका एक अधिकारीका अनुसार प्रयास सफल भएको छ भने भोली शुक्रवार भेटवार्ता हुने तय भएको हो । शुक्रबार अपराह्न ४ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटको समय निर्धारित भएको छ । नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा शुक्रबार अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ । त्यसअघि बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । मोदी थाइल्याण्डबाट श्रीलंका भ्रमणमा जाने तयारी छ । भारतीय विदेश मन्त्रालका प्रवक्ता रणधीर जयसवालले ‘बिमस्टेक’ मा सहभागी विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदीको साइडलाइन भेटवार्ता हुन सक्ने बताए । तर, भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिकामा भने ओलीसँग भेट हुनेबारे उल्लेख छैन ।
नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड र त्यसअघि शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच हुने भेट राजनीतिक रुपमा बहुप्रतीक्षित बनेको छ । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता गरेका थिए । संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको थियो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्ने तयारी छ ।
Post Comment