त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
१२ चैत, चितवन ।
मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको र सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो । टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो । चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए ।
Post Comment