रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी
२५ भदौ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्। उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ। सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।‘रवि लामिछाने पोखरा आउने कुरा थाहा नै थिएन, थाहा पाउनेबित्तिकै हामी गएर नाराबाजी र कालो झण्डा देखायौं,’ उनले भने। पीडितले ‘सहकारीको पैसाले पार्टी खोल्न पाइँदैन, सहकारी ठग मुर्दावाद, जिबी राई कहाँ छ, रवि लामिछानेलाई थाहा छ’ जस्ता नारा लगाएका थिए।
सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाको नाममा लामिछानेले एक करोड रुपैयाँ ऋण लिएर उक्त ऋण तिरेको देखाएको छ। लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए। सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ।
Post Comment