ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ६, २०८१
|
|
२ पटक हेरिएको
Shares
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४

सारांश

  •   ६ साउन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गरेका छन् ।
  • आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।

 

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो । ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो । नेमकिपाका सांसद प्रेम सुवाल भने तटस्थ बसे । सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ हुन १८४ मत आवश्यक पर्छ । ओलीले त्यसभन्दा ४ मत बढी पाएका छन् । २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीले भोलिपल्टै पद तथा गोपनीयताका शपथग्रहण गरेका थिए ।

एक साता नबित्दै ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन् । ओलीलाई कांग्रेस-एमालेका अलावा जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति र २ स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।  ओलीको विपक्षमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीसहितले मतदान गरेका छन् । २०७९ पुस २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७० सदस्य उपस्थित हुँदा २६८ जनाको समर्थन पाएका थिए ।

जुन ९९ प्रतिशतभन्दा बढी थियो । तर, पाँचौंपटक विश्वासको मत लिने क्रममा प्रचण्डले गत असार २८ गते ६३ जनाको मात्रै मत पाए । प्रचण्ड पदमुक्त भएपछि ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यी दुई दलबीच २०८३ असारसम्म ओली र त्यसपछि २०८४ मंसिरमा निर्वाचन नगर्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?