खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
२१ फागुन, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चोटग्रस्त खुट्टाकै सहारामा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जाने भएका छन्। जनकपुरको चुनावी सभामा घाइते भएयता सार्वजनिक कार्यक्रमबाट टाढै रहेका लामिछाने स्वास्थ्यमा पूर्ण सुधार नआउँदै चुनावी मैदानमा फर्किन लागेका हुन्। लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत बुधबारदेखि नै सार्वजनिक जीवनमा फर्किने घोषणा गरेका थिए।

पार्टी स्रोतका अनुसार, उनी सोमबार नै चितवन जाने तयारीमा थिए, तर चिकित्सकले थप आराम गर्न सुझाएपछि भ्रमण दुई दिन सरेको हो। ‘उहाँको खुट्टाको घाउ अझै निको भइसकेको छैन, सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्था छैन,’ रास्वपाका एक नेताले भने, ‘चितवन पुगे पनि उहाँ तत्काल घरदैलोमा जानुहुने छैन, बसेकै स्थानबाट राजनीतिक भेटघाट र चुनावी रणनीतिमा केन्द्रित हुनुहुनेछ।’ गत माघ ४ मा जनकपुरमा आयोजित रास्वपाको पहिलो चुनावी सभामा सहभागी हुने क्रममा पर्खालमा ठोक्किएर लामिछानेको खुट्टामा गहिरो चोट लागेको थियो। त्यसयता उनी काठमाडौँस्थित निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए।

फागुन १ गतेदेखि सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले संयुक्त रूपमा देशव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेका छन्। रास्वपा नेतृ प्रतिभा रावलका अनुसार दुवै नेताले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्ने गरी कार्यतालिका निर्माण भइरहेको छ। ‘फागुनको पहिलो सातादेखि दुवै नेता संयुक्त रूपमा चुनावी अभियानमा निस्किनुहुनेछ,’ रावलले भनिन्, ‘समयले भ्याएसम्म उहाँहरू धेरैभन्दा धेरै मतदाताको घरदैलोमा पुग्ने लक्ष्य छ।’ बालेन हाल पूर्वमा छन्। झापा–५ का उम्मेदवार रहेका साहले आफ्नो क्षेत्रका अतिरिक्त छिमेकी जिल्लाहरूमा समेत रास्वपा उम्मेदवारहरूको पक्षमा माहोल बनाउन सक्रियता बढाएका छन्।




Post Comment