२३ माघ २०८२, बिहीबार

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तामझामसहित मनोनयन दर्ता गर्ने तयारी गरेको छ। झापा ५ मा निर्वाचन परिचालनको कमान्ड सम्हालिरहेका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार माघ ६ गते हुने मनोनयन दर्ता कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको छ। मनोनयन दर्ताका क्रममा रास्वपाले स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी दर्ताको तयारी गरेको छ।  त्यसक्रममा पञ्चेबाजा, धिमालहरूको सांस्कृतिक टोली, राई(लिम्बू र सन्थाल समुदायका झाँकी प्रदर्शन हुनेछन्।

 

यसका लागि दमक, कमल, गौरादह र गौरीगञ्ज गरी चारवटा पालिकाबाट सांस्कृतिक टोलीहरू सहभागी गराउने योजना बनाइएको रास्वपाले जनाएको छ। रास्वपाका दमक क्षेत्रमा मात्रै करिब ३ हजार सङ्गठित सदस्य रहेको दाबी सो पार्टीको छ। मनोनयनका दिन पार्टीका सङ्गठित सदस्यका साथै स्वतन्त्र रूपमा आउने शुभचिन्तकहरूको ठूलो सङ्ख्या सहभागी हुने अपेक्षा गरिएको रास्वपा झापाका सभापति प्रकाश पाठकले बताए।

सिटौलाको घरको चर्चा
बालेन साह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएपछि चुनावी कमान्ड सम्हाल्नका लागि बिन्दु (लक्की) सिटौलाको घरबाट सञ्चालन गर्ने तयारी बालेनको सचिवालयले जनाएको छ।

बालेनको सचिवालयको टिमसहितको सहयोगीहरूले दमक ५ मा निर्वाचन कार्यालयको टुङ्गो लगाइसकेको जनाएको छ। यो घर रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’को भएको दाबी गरिएको छ।  ३ वटा घरहरू खोजी रहेको बालेनको टोलीले अरू घरहरूको खोजी भइरहेको जनाएको छ।

तत्काल कार्यालय सञ्चालनका लागि  बिन्दुको घरबाट सचिवालय सञ्चालनको तयारी गरिरहेको बालेनका सहयोगीहरूले बताएका छन्।
घर उपलब्ध गराउन लागेकी बिन्दु रास्वपाको समानुपातिक सूचीका लागि प्राइमरी सूचीमा परेकी नेतृ हुन्।

तर रास्वपा झापाले अहिलेसम्म घर नभेटिएको बताउँदै आएको छ। रास्वपा झापाका एक नेताले भने, ञहामीले घरहरू धेरै वटा हेरेका छौँ त्यो मध्ये केही घरहरू सचिवालयको टिमले हेरेको छ, सम्झौता हामीले नै गर्ने हो, अहिलेसम्म सम्झौता भइसकेको छैन। नटुङ्गिएको विषयमा अहिले नै हामीले घर भेटिएको भनेर भन्न सक्ने अवस्था नभएको ती नेताले बताए।

बालेन मनोनयनको अघिल्लो दिन झापा आइपुग्ने तयारीमा छन्।  झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट बालेन साह र नेपाली कम्युनिस्ट पार्टीका नेता रञ्जित तामाङ बिच प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रबाट ओलीले २०७९ को निर्वाचनमा ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए। त्यति वेला काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए। यस पटक झापा ५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन्। तीमध्ये नौ हजार ९० नयाँ मतदाता थपिएका छन्।

Post Comment

छुटाउनुभयो कि ?