विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
२ माघ, काठमाडौं ।
नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् । शुक्रबार (माघ २) निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।

हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए । विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूसँग रहेको उनको भनाइ छ । उनले भने, “हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।” गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।




Post Comment