यू–१९ एसिया कपः नेपाली युवा टिम जितविहीन
२ पुस, काठमाडौं ।
एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिम जितविहीन बनेको छ । बुधबार भएको समूह ‘बी’को अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १२५ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा उजाइरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाए । उनले ५९ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

ओपनर ओस्मान सादातले २८ र फैसल सिनोजादाले १३ रन जोडे । यस्तै, कप्तान महबुस खान र अजिजुल्लाह मियाखिल समान ११ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारीले दुई विकेट लिए । विपिन शर्मा र र चन्दन रामले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपाल ४६.४ ओभरमा १२४ रनमै समेटिएको थियो । नेपालका दिल्सान अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन थपे । अफगानिस्तानका जैतुल्लाह साहिनले तीन विकेट लिए । १० ओभरमा उनले तीन मेडन फ्याँक्दै १९ रन मात्र खर्चिए । अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जद्रानले समान दुई विकेट लिए । सलम खानले एक विकेट लिए । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपालले यसअघि पहिलो खेलमा श्रीलंकासँग आठ विकेटको र दोस्रो खेलमा बंगलादेशसँग सात विकेटको हार व्यहोरेको थियो ।




Post Comment