सर्लाहीको चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका–१४ को माइस्थान आसपासका क्षेत्रमा प्रहरीले संयुक्त रुपमा करिब चालिस बिघा क्षेत्रफलमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालयले शनिवार प्रेस विज्ञप्तिमार्फत चालिस बिघा क्षेत्रफलमा फैलिएको करिब दुई लाख बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान क्षेत्रमा पुगेर अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
अन्य बाली खासै उत्पादन नहुने चुरे क्षेत्रका स्थानीय बासिन्दाले जीविकोपार्जनका लागि लामो समयदेखि गाँजा खेतीलाई आम्दानीको मुख्य आधार बनाउँदै आएका छन् । कम लागतमा राम्रो आम्दानी हुने भएकाले यहाँका किसानहरू यसतर्फ आकर्षित हुँदै आएका भए पनि प्रचलित नेपाली कानुनले गाँजा खेती, उत्पादन तथा कारोबारलाई अवैध ठहर गरेको छ ।
यस कारण पछिल्लो समय सुरक्षा निकायले यस्ता अवैध खेतीविरुद्ध कडाइ बढाउँदै आएको छ । प्रहरीका अनुसार कानुन कार्यान्वयन र लागुऔषध नियन्त्रण अभियानअन्तर्गत चुरे भेगका दुर्गम बस्तीहरूमा पुगेर गाँजा फडानी तथा नष्ट गर्ने कार्य तीव्र पारिएको छ । स्थानीय तहमा वैकल्पिक आम्दानीका स्रोतको अभाव रहँदा गाँजा खेती फैलिँदै गएको देखिए पनि कानुनी व्यवस्थाअनुसार यस्ता गतिविधि रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको जनाइएको छ ।



Post Comment